Back

ⓘ मिन्स्क




मिन्स्क
                                     

ⓘ मिन्स्क

मिन्स्क पूर्वी युरोपको बेलारुस देशको राजधानी र सबैभन्दा ठूलो सहर हो। यो सहर स्विस्लाच र नियामिहा नदीको छेउमा अवस्थित छ। राजधानी हुनुका साथै मिन्स्क सहर मिन्स्क क्षेत्र मिन्स्क जिल्लाको विशेष प्रशासनिक केन्द्रको रूपमा रहेको छ। सन् २०१८ जनवरीको जनगणना अनुसार मिन्स्कको जनसङ्ख्या १९,८२,४४४ रहेको छ। जनसङ्ख्याको आधारमा यो सहर युरोपको ११औँ ठूलो सहर हो। यो सहर स्वतन्त्र राष्ट्रमण्डल राज्यहरूको प्रशासनिक राजधानी र कार्यकारी सचिवको क्षेत्र हो।

                                     

1. इतिहास

मिन्स्कको उल्लेख सबैभन्दा पहिले सन् १०६७ मा ऐतिहासिक पुस्तकहरूमा गरिएको पाइन्छ। सो समयमा यो सहर पोलोत्स्क नामक राज्यको एक प्रान्तीय सहर थियो। सन् १२४२ मा यो महान लिथुयानियाली ड्युक राज्यको भाग बनेको थियो। सन् १५६९ पछि यो पोलिसियाली-लिथुयानियाली राष्ट्रमण्डल अन्तर्गत रहेको मिन्स्क राज्यको राजधानी बनेको थियो र सन् १७९३ मा यसमाथि रुसी साम्राज्यको कब्जा स्थापित भएको थियो। सन् १९१९ देखि सन् १९९१ सम्म सोभियत सङ्घको समयमा यो बेलारुसी सोभियत समाजवादी गणतन्त्रको राजधानी रहेको थियो भने सन् १९९१ मा सोभियत सङ्घको विघटनपछि बेलारुस एउटा स्वतन्त्र सार्वभौमिक राष्ट्र बन्यो र मिन्स्कलाई बेलारुसको राजधानी बनाइएको हो।

                                     

2. मौसम

गर्मीयाममा मिन्स्कको औसत तापक्रम १७.८° सेन्टिग्रेड हुन्छ भने जाडोयाममा यहाँ निकै जाडो हुने गरेको छ। जाडो मौसममा यहाँ हुस्सु र हिमपात हुनु सामान्य जस्तो हुने गरेको छ। जनवरी महिनाको औसत तापक्रम −६.१° सेन्टिग्रेडसम्म पुग्ने गरेको छ। ऐतिहासिक तथ्याङ्क अनुसार सन् १९४० जनवरी १७ को दिन यस सहरको तापक्रम −४०° सेन्टिग्रेडमा पुगेको थियो। वार्षिक वर्षाको ३०% वर्षा जाडोमा र बाँकी ६०% वर्षा गर्मीयाममा हुने गरेको छ।